काठमाडौँ । नेपाल प्रहरीले तीनकुनेमा राजावादीकले आयोजना गरेको प्रदर्शनमा कार्यक्रमस्थलमै अश्रुग्यास प्रहार गरेको भनेर भाइरल भएको भिडियोमा सत्यता नरहेको बताएको छ । बुधबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उक्त भिडियो डिपफेक भएको बताएको हो ।
‘कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको छैन । कार्यक्रम सुरु हुनुभन्दा अगाडि राष्ट्रिय गान बज्दा टियर ग्यास हानेको भन्ने होइन । त्यो ‘डिपफेक’ भिडियो हो । कार्यक्रम नै सुरु भएको छैन, कसरी राष्ट्रिय गान बज्छ ?’ प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले भने ।
उनले सो दिन प्रहरी कम्फर्टेबल स्थितिमा नभएको र एक ठाउँबाट हानेको टियर ग्यास अर्को ठाउँमा पुग्न सक्ने बताए । प्रहरीका अनुसार सो दिन २० जनामाथि गोली चलेको थियो । गोली लाग्नेमा २ महिला छन् भने १८ जना पुरुष छन् ।
उक्त दिन ५८ राउन्ड गोली, ७४६ राउन्ड टियर ग्यास, ब्ल्यांक फायर १९२ पटक फायर भएको स्वीकार गरेको छ । प्रदर्शनको दिन ५५ नेपाल प्रहरी २३ सशस्त्र प्रहरी तथा ५३ जना प्रदर्शकारी घाइते भएका छन् ।