प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बैंककमा भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बिम्स्टेकको छैटौं सम्मेलनको अवसरमा, शुक्रबार साइडलाइन भेटवार्ता भएको ओलीको सचिवालयले जानकारी दिएको छ।
भेटमा द्विपक्षीय सम्बन्ध र सहकार्यका विभिन्न पक्षमा छलफल भएको छ। प्रधानमन्त्री ओलीले मोदीलाई आगामी जेठ २ देखि ४ गते काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रममा सहभागी हुन पुनः निमन्त्रणा दिएका छन्। यसअघि, परराष्ट्रमन्त्री आरजु राणा पनि दिल्लीमा मोदीलाई उक्त कार्यक्रमको निमन्त्रणा दिन गएको थिइन् ।
भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा, प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र सचिव अमृत राई सहभागी थिए ।
यो भेट ओली र मोदी बीचको दोस्रो भेट हो। यसअघि, असोज ६ गते न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिँदै भेट भएको थियो ।