हेटौँडा । करिब पाँच महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्ट उत्पादन सुरु गरेको छ ।
विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द भएको उत्पादन प्रक्रिया विद्युत् सहज भएसँगै पुनः सञ्चालनमा आएको हो । उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्छ । हाल उद्योगमा आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन कोइला जगेडामा राखिएको छ भने दोस्रो चरणमा थप चार हजार मेट्रिक टन कोइला ल्याउने तयारी भइरहेको छ ।
विसं २०३३ मा स्थापना भएको हेटौँडा सिमेन्ट उद्योग विसं २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो। उक्त उद्योगमा एक अर्ब ५० करोड रुपैयाँको लगानी गरिएको थियो ।
हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा, भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जनाले स्थायी रोजगारी पाएका छन् । उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादन क्षमता राखे पनि हाल १२ हजार बोरा मात्र उत्पादन भइरहेको छ ।