बलिउड सुपरस्टार सलमान खानको स्टारडमले नेपाली दर्शकमा समेत खासै प्रभाव पारेको उदाहरण बाराको सिमरामा देखिएको छ ।
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ बैरिया निवासी राजु चौधरी सलमान खानको नयाँ चलचित्र ‘सिकन्दर’ हेर्न खुट्टा भाँचिएको अवस्थामा पनि हल पुगेका छन् ।
राजु चौधरीको खुट्टा भाँचिएको थियो र चिकित्सकीय सल्लाह अनुसार आराम गर्नुपर्ने अवस्थामा थिए । तर सलमानको नयाँ फिल्म रिलिज भएको खबर पाएपछि उनले आफूले लगाएको ब्यान्डेज नै काटेर सिमराको हलमा फिल्म हेर्न पुगे। चौधरीले भने, “म सलमान खानको ठुलो फ्यान हुँ । उनको चलचित्र म हलमै हेर्छु । खुट्टा भाँचिए पनि सिकन्दर हेर्नैपर्छ भन्ने लाग्यो ।”
उनको यो समर्पणप्रति हलका कर्मचारी र दर्शकहरू अचम्भित भएका थिए । खुट्टामा समस्या भएर पनि दुई घण्टा लामो चलचित्र हेरेर निस्किएका चौधरीलाई फिल्म हेरेर अत्यन्तै खुशी भएको प्रतिक्रिया दिएका छन् । “सिकन्दरजस्तो फिल्म हेर्न पाएर खुसी लाग्यो,” उनले भने, “अब चोट निको भएपछि फेरि हेर्न आउँछु ।”
राजुको यो क्रेज सामाजिक सञ्जालमा भाइरल बन्न थालेको छ । कतिपयले उनको समर्पणलाई साहसको रूपमा लिएका छन् भने केहीले स्वास्थ्यभन्दा फिल्मलाई प्राथमिकता दिएको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।