काठमाडौं । आम जनता पार्टी (आजपा)ले आउँदो जेठ १५ गते सिंहदरबार घेराउ गर्ने घोषणा गरेको छ । पार्टीको स्थायी कमिटी बैठकले ‘नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट हटाउने’ निष्कर्षसहित उक्त निर्णय गरेको हो ।
कोटेश्वरमा मङ्गलवार बसेको बैठकमा पार्टी अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र वर्तमान व्यवस्था पूर्णरुपमा असफल भएको आरोप लगाउँदै, सिंहदरबार घेराउका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् । बैठकले दलाल दलतन्त्रको देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । आजपाका महासचिव त्रिभुवन साहका अनुसार, आन्दोलन अन्तर्गत जिल्ला जिल्लामा सर्वपक्षीय भेलाद्वारा जनआन्दोलन परिचालन समिति गठन गरिनेछ ।
गणतन्त्र दिवसकै अवसर पारेर जेठ १५ गते नक्कली गणतन्त्रवादीहरूलाई सिंहदरबारबाट निकाल्ने अठोट बैठकले दोहोर्याएको प्रवक्ता चन्द्रभुषण साहले जानकारी दिए । साथै, चैत २४ गते राजधानीमा गरिएको विरोध प्रदर्शन सफल भएको निष्कर्ष पनि बैठकले निकालेको छ ।
यसै क्रममा, पार्टी हितविपरित कार्य गर्ने वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको बैठकले निर्णय गरेको छ । आजपाले भ्रष्टाचार, अनियमितता, कर आतङ्क, कुशासन र वैदेशिक रोजगार ठगीविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको छ ।