काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण गराएको छ ।
सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, प्रमुख सचेतक सन्तोष परियारलगायत रास्वपाका नेताहरू आयोगको कार्यालयमा पुगेर आयुक्तहरूलाई घटनाको जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूले लामिछानेको मानव अधिकारको रक्षा गर्न आयोगको हस्तक्षेप आवश्यक रहेको बताएका छन् । रास्वपाले लामिछानेलाई पक्राउ पुर्जी विना नियन्त्रणमा लिइएको र हिरासतमा प्रहरीबाट ज्यादती गरिएको आरोप लगाएको छ ।
सहकारीको रकम ठगी आरोपमा चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सोही दिन राति उनलाई बनस्थलीस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।