काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राजनीतिक स्थिरता कायम भएकाले आर्थिक विकासमा विश्वास राख्दै ढुक्क भएर लगानी गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्शको ७४औं वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सूचना तथा प्रविधिको सकारात्मक प्रयोग, विज्ञान प्रविधिमा आधारित उत्पादन वृद्धिका उपाय र संयुक्त लगानीको प्रवर्द्धनमा जोड दिए । प्रधानमन्त्री ओलीले भने, “गालीगलौज र भ्रम फैलाउन सूचना प्रविधि प्रयोग गर्नु हुँदैन । सेवामा सहजता ल्याउन प्रयोग गर्नुपर्छ। बाह्य र संयुक्त लगानी बढाउन जरुरी छ ।”
चेम्बर आफैमा एकता र सहकार्यको प्रतीक भएको उल्लेख गर्दै उनले सरकारको तर्फबाट आवश्यक सबै सहयोग हुने पनि प्रतिवद्धता जनाए। “चेम्बर सरकार र निजी क्षेत्रबीचको पुल हो, देशको विकासका लागि यस्तो संस्थाले नीति निर्माणमा सहकार्य गर्नु सकारात्मक हो,” उनले भने ।
अर्थतन्त्रका लागि सरकारले ल्याएका अध्यादेशहरूलाई चेम्बरले समर्थन गरेको भन्दै प्रधानमन्त्रीले धन्यवाद दिए। “सही र गलतको आधारमा समर्थन वा आलोचना गर्नु राम्रो अभ्यास हो,” उनले थपे ।
प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्म मात्र नभई त्यसपछि पनि सरकारको स्थिरता कायम रहने स्पष्ट पार्दै लगानीकर्ताहरूलाई ढुक्क भएर उद्योग–व्यवसायमा लाग्न आग्रह गरे। कार्यक्रममा विभिन्न उद्योगी–व्यवसायीलाई सम्मान गर्दै चेम्बरको स्मारिका पनि लोकार्पण गरिएको थियो ।