काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन सरकारलाई सुझाव दिएको छ ।
नेपालको नागरिक उड्डयन क्षेत्रलाई दीर्घकालीन रूपमा सुरक्षित, भरपर्दो र सहज बनाउनु पर्ने आवश्यकता औंल्याउँदै आयोगले निजगढ विमानस्थलको निर्माण कार्य अविलम्ब अघि बढाउनुपर्ने सिफारिस गरेको हो ।
यस्तै, आयोगले हाल सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका लागि थप भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने जनाएको छ । साथै, पोखरा र भैरहवास्थित नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि सरकारले गत साउनमा स्वीकृत गरेको कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने सुझावसमेत प्रतिवेदनमा समेटिएको छ ।
पर्यटन पूर्वाधार सुदृढ गर्न आयोगले काठमाडौं–चितवन, पोखरा–लुम्बिनी र भैरहवा–बर्दियालगायतका प्रमुख सडक मार्गहरूलाई कम्तीमा चार लेनमा विस्तार गर्नुपर्ने उल्लेख गरेको छ ।
त्यस्तै, नेपालमा विदेशी पर्यटकलाई अपार्टमेन्ट खरिद गर्न दिने कानुनी व्यवस्था गर्न, नेपाल वायुसेवा निगमको संरचना सुधार गरी रणनीतिक साझेदार भित्र्याउने र क्षेत्रीय उडानको सङ्ख्या बढाउने सिफारिस पनि आयोगले गरेको छ ।