काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विश्व शक्तिराष्ट्रबीच जारी ट्रयारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा पनि खतरनाक बन्न सक्ने बताएका छन् ।
शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो अवस्था नेपाललाई पनि असर गर्न सक्ने चेतावनी दिए ।
‘अमेरिका र चीनलगायत मुलुकहरू ट्रयारिफ युद्धमा होमिएका छन्,’ नेता कोइरालाले भने, ‘यस्तो अवस्था तेस्रो विश्वयुद्धभन्दा खतरनाक देखिन्छ। नेपालले पनि यसबारे गम्भीरतापूर्वक सोच्नुपर्छ ।’ उनले नेपालमा सुलभ र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै स्वास्थ्य प्रणाली सुधारका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए ।
त्यसैगरी, उनले कांग्रेस सत्तामा भए पनि सरकारमा नरहेको दोहोर्याए। ‘हामी सत्तामा त छौं, तर सरकारमा छैनौं,’ उनले भने, ‘किनभने अहिले सहकार्यको नाममा एमालेसँग हात मिलाइएको छ, जुन हाम्रै प्रमुख प्रतिस्पर्धी हो ।’
संविधान संशोधनसम्बन्धी विषय अब सेलाउँदै गएको भन्दै उनले सडकमा आक्रोश बढ्न नदिन ढिलाइ नगर्न सरकारलाई चेतावनीसमेत दिए। साथै, सुशासन र भ्रष्टाचार नियन्त्रणका नारा केवल नारामा सीमित रहेको भन्दै दण्डहीनता बढिरहेको टिप्पणी गरे ।