काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाबाट आफू गहिरो रूपमा दुखी भएको बताएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा जारी गरेको शुभकामना सन्देशमार्फत उनले जनप्रदर्शनको नाममा भएको आगजनी र तोडफोडप्रति चिन्ता व्यक्त गरेका हुन् ।
पूर्वराजाले शान्तिपूर्ण भनिएको प्रदर्शन हिंसात्मक बन्दै जाँदा जनधनको क्षति भएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे।
उनले भनेका छन्, “केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जसरी मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अन्यत्त दुःख लाग्यो ।”
साथै उनले नागरिक स्वतन्त्रतालाई सर्वोपरि ठहर गर्दै भने, “नागरिक स्वतन्त्रता भन्दा ठूलो वाद अरु कुनै हुन सक्दैन ।”
तीनकुनेमा भएको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा आगजनी, सवारी साधनमा तोडफोड, र सुरक्षाकर्मीमाथि आक्रमणजस्ता गतिविधि भएका थिए। सो घटनाले मुलुकभरि चासो र चिन्ता उत्पन्न गराएको छ ।