काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा घरमा आगजनी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ निवासी २२ वर्षीय सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिका निवासी २० वर्षीय गोकर्ण शाही रहेका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार गौतमले तीनकुनेस्थित एक घरमा आगो लगाएका थिए। उनी अनवरत तत्पर फौज (एटीएफ) का प्रवक्ता समेत रहेको खुल्न आएको छ ।
प्रदर्शनको क्रममा गौतम दुर्गा प्रसाईंको गाडीमा झुण्डिएर अघि बढिरहेको दृश्यसमेत सार्वजनिक भएको थियो ।
पक्राउ परेका अर्का व्यक्ति गोकर्ण शाही एटीएफको सदस्य रहेको र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोडमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रदर्शनमा हिंसा, तोडफोड र आगजनीका घटना भएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो। उक्त घटनाका अन्य संलग्नको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।