काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् । श्रेष्ठले सांसदको भूमिकामा मात्रै केन्द्रित रहने निर्णय गर्दै पार्टी जिम्मेवारीबाट अलग हुने घोषणा गरेकी हुन् ।
पार्टी स्रोतका अनुसार सभापति रवि लामिछाने हिरासतमा बसेपछि फर्किएको दिन नै सुमनाले आफ्नो राजीनामा बुझाएकी थिइन् । यद्यपि उनले यस विषयमा सार्वजनिक रूपमा हालसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।
आज दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने केन्द्रीय समिति बैठकमा सुमनाले आफ्ना धारणा सार्वजनिक गर्ने बताइएको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले श्रेष्ठले बैठकमा आफ्नो राजीनामासम्बन्धी धारणा राख्ने जानकारी दिएका छन् ।
श्रेष्ठ हाल प्रतिनिधिसभा सदस्यको भूमिकामा सक्रिय रहेकी छन् भने उनको यो निर्णयले पार्टीभित्र नयाँ बहस सुरु गराएको छ ।