काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’ बलात्कार मुद्दामा फरार भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी फरार भएको प्रहरीले जनाएको छ ।
२५ वर्षीया महिलाले बलात्कारको आरोप लगाउँदै जाहेरी दिएपछि काठमाडौं प्रहरी परिसरको महिला सेलले अनुसन्धान सुरु गरेको हो । घटनासम्बन्धी थप अनुसन्धानका लागि पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
“हामी घटनाको अनुसन्धान गर्दैछौं, आरोपीलाई खोज्दै छौं,” एसपी बोहराले भने । उनका अनुसार अहिराजको खोजी कार्य तीव्र पारिएको छ ।
राजेश अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ गतेसम्म मधेस प्रदेशको प्रमुखका रूपमा नियुक्त थिए ।