काठमाडौँ | नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । आगामी राष्ट्र बैंकको १८ औँ गभर्नर नियुक्तिका लागि बलियो उम्मेदवारका रूपमा रहेका भट्टले शुक्रबार कार्यकारी निर्देशकको पदबाट राजीनामा बुझाएका हुन् ।
डा. भट्टले गभर्नर नियुक्तिका लागि कानुनी रूपमा कार्यकारी निर्देशकको पद त्याग्नुपर्ने भएकाले राजीनामा दिएको जानकारी दिएका छन् । राष्ट्र बैंकको नेतृत्वमा बहालवाला कार्यकारी निर्देशकलाई गभर्नर बनाउने विषयमा कानुनी अन्योलता देखिएपछि, राजनीतिक सहमति र सकारात्मक सङ्केत प्राप्त भएपछि उनले यस्तो कदम चालेका हुन् ।
श्रोतका अनुसार मन्त्रिपरिषद्को आगामी बैठकले डा. भट्टलाई गभर्नरको रूपमा नियुक्त गर्ने तयारी गरेको छ । गभर्नरको नियुक्ति विषयमा सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमति भएपछि काँग्रेसको भागमा पर्ने गरी गभर्नरको टुङ्गो लागेको हो। यसै कारण काँग्रेस निकट भट्टले राजीनामा दिएका हुन् ।
यसैबीच, गभर्नरको दौडमा रहेका अर्का कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले पनि राजीनामा दिएका छन् । यससँगै राष्ट्र बैंकमा शीर्ष तहमा गभर्नर नियुक्तिको अन्तिम चरणमा प्रतिस्पर्धा झनै चर्किएको देखिएको छ ।
गभर्नर चयन प्रक्रिया अन्तिम तयारीमा पुगेको अवस्थामा, राजीनामा दिने कार्यकारी निर्देशकहरू नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्दै अघि बढेका छन् ।