राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कुनै कार्यक्रमस्थल नतोक्दै निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि काठमाडौं उपत्यकाभरि सुरक्षा सतर्कता बढाइएको छ ।
प्रहरीले प्रमुख संवेदनशील क्षेत्रहरूमा ‘सर्च एण्ड कर्डन ड्युटी’ लागू गर्दै व्यापक रुपमा प्रहरी परिचालन गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, आम नागरिकको दैनिकी नबिग्रियोस् भन्ने उद्देश्यले संयमित रूपमा तर चनाखो ढंगले सुरक्षा व्यवस्थापन मिलाइएको हो ।
सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, सभामुखको निवास, संसद भवन लगायतका मुख्य सरकारी संस्थान तथा संवेदनशील स्थानहरूमा विशेष ड्युटी खटाइएको छ ।
मुख्य सुरक्षा व्यवस्था यस्ता छन्:
- सिंहदरबार लक्षित सुरक्षाः भद्रकालीबाट सिंहदरबारतर्फ जाने सडकमा कर्डन ड्युटी
- सर्वोच्च अदालत सुरक्षाः माइतीघर क्षेत्रबाट निगरानी
- संसद भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र): बबरमहलदेखि तीनकुनेसम्म विशेष निगरानी
- राष्ट्रपति भवन सुरक्षाः नारायणगोपाल चोक, महाराजगञ्ज क्षेत्र कडा निगरानीमा
- उपराष्ट्रपति कार्यालय सुरक्षाः बालाजुबाट अस्कल क्याम्पसमा अवरोध, सवारी ठमेल डाइभर्ट
- प्रधानमन्त्री निवास सुरक्षाः नक्साल, भाटभटेनी क्षेत्र ‘कर्डन’मा
- सभामुख निवास सुरक्षाः गैरीधारा–खोर्सानीटार खण्डमा विशेष टोली
प्रहरीले सर्वसाधारणको आवागमनलाई न्यूनतम असर हुने गरी सुरक्षाव्यवस्था मिलाइएको बताएको छ। तर, निषेधित क्षेत्रमा जबरजस्ती प्रवेश गर्ने प्रयास भएमा कडा प्रतिक्रिया जनाउने तयारी गरिएको छ । प्रहरी स्रोतका अनुसार, व्यारिगेट, हतियारसहितको टोली र अत्यावश्यक जनशक्ति तयारी अवस्थामा छन्। उपत्यकाका विभिन्न युनिट र प्रहरी गण–गुल्मलाई ‘स्ट्याण्डबाई ड्युटी’मा राखिएको छ ।
राप्रपाले हालसम्म कुनै कार्यक्रम स्थल नतोकिएको र स्थानीय प्रशासनसँग अनुमति समेत मागिएको छैन। त्यसैले कार्यक्रमको स्वरूप र स्थान स्पष्ट नभएको अवस्थालाई मध्यनजर गर्दै सशक्त पूर्वतयारीमा प्रहरी देखिएको हो ।विश्लेषकहरूका अनुसार राजनीतिक दलहरूले संवेदनशील क्षेत्रतर्फ आन्दोलन गर्न खोज्दा अवस्था चनाखो बनाउनु स्वाभाविक भए पनि शान्तिपूर्ण प्रदर्शनलाई नरोकिने प्रतिबद्धता प्रशासनले जनाउन जरुरी छ ।