काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित आइतबार सिंहदरबार क्षेत्रबाट पक्राउ परेका सात जना नेता–कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ ।
राप्रपाले सिंहदरबारभित्रै सरकारविरुद्ध प्रदर्शन गर्दै गर्दा अध्यक्ष लिङ्देनसहितका नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखेको थियो। प्रहरी परिसरका प्रमुख एसपी अपीलराज बोहराका अनुसार, सोही दिन साँझ उनीहरू सबैलाई रिहा गरिएको हो ।
रिहा हुनेहरूमध्ये अध्यक्ष लिङ्देन, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चा अध्यक्ष कैलाश कटवाल रहेका छन् ।
सिंहदरबार क्षेत्र सरकारको उच्च सुरक्षा क्षेत्र अन्तर्गत पर्ने भएकाले त्यहाँ पूर्व अनुमति बिना कुनै पनि प्रकारका प्रदर्शन गर्न पाइँदैन। तर राप्रपाले भ्रष्टाचार, बेथिति र महँगीविरुद्ध प्रदर्शन गर्दै सो क्षेत्रमा आन्दोलन गरेको थियो ।
सरकारविरुद्ध आक्रोश प्रकट गर्दै राप्रपाले देशभर विरोध कार्यक्रमहरू गर्दै आएको छ। पार्टीले आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी समेत दिएको छ ।