काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेतृत्वमा विश्वास र भरोसा भए जटिल र गाह्रो कामहरू पनि सजिलै सम्भव हुने बताएका छन्।
आइतबार काठमाडौंमा नेपाल बज्रमान महाविहार लुम्बिनीद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले नेतृत्वप्रतिको जनविश्वासले कठिन कार्यहरूलाई पनि सफलतातर्फ लैजान सकिने बताएका हुन् ।
उनले २०४६ सालको जनआन्दोलनको उदाहरण दिँदै आन्दोलन सफल हुनुमा तत्कालीन सर्वोच्च नेता गणेशमान सिंहप्रति जनताको विश्वास प्रमुख कारण रहेको स्मरण गरे । “राम्रो काम गर्न गाह्रो पर्छ, तर गाह्रो कामलाई कार्यान्वयनमा लैजान नेतृत्व राम्रो र विश्वासिलो भयो भने सम्भव हुन्छ,” उनले भने ।
सिंहले सामाजिक तथा धार्मिक कार्यहरूलाई सफलतापूर्वक सम्पन्न गराउन पनि नेतृत्वको भूमिकालाई महत्वपूर्ण मान्दै विश्वास जित्ने नेतृत्व आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा उनले लुम्बिनीमा निर्मित नेपाल बज्रमान महाविहारले धार्मिक तथा पर्यटकीय गतिविधिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।