काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि आइतबार दिउँसो थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । विगतमा सिंगापुरमा आँखा र पेटको उपचार गराइसकेका देउवा यसपटक 'फलोअप' चेकअपका लागि बैंकक गएका हुन् ।
स्रोतका अनुसार देउवालाई सिंगापुरमै उपचार गरिरहेका चिकित्सक हाल बैंककमा रहेकाले उनलाई त्यहीँ पु¥याइएको हो। देउवाले हरेक दुई–तीन वर्षमा नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् ।
देउवासँगै उनकी पत्नी तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि बैंकक गएकी छन् । उनले संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को ८१औँ सत्रमा भाग लिने कार्यक्रम छ, जुन सोमबारदेखि थाइल्यान्डमा सुरु हुँदैछ ।
देउवासँगै उनका स्वकीय सचिव भानु देउवा र छोरा जयबिरसिंह देउवा पनि बैंकक गएका छन् । देउवा करिब एक सातासम्म बैंककमा रहनेछन्। यसबीचमा उनले केही राजनीतिक भेटघाटसमेत गर्न सक्ने अनुमान गरिएको छ ।
पार्टीको कामकारबाही सहज रुपमा अगाडि बढोस् भनेर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खडकालाई दिएका छन्। कांग्रेसभित्र असन्तुष्टिको आवाज उठिरहेका बेला देउवाको यो विदेश यात्रा राजनीतिक दृष्टिले पनि चासोको विषय बनेको छ ।