काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर जबराले प्रहरी हिरासतमा आफूहरूले राम्रो व्यवहार पाएको बताएका छन् । हाजिर जमानीमा रिहा भएपछि पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले हिरासतमा खान, बस्नको राम्रो व्यवस्था रहेको बताए ।
जबराले सुरुमै प्रहरीले ‘अस्पताल जाने हो कि?’ भनेर सोधेको तर आफू त्यस्तो अवस्थाबाट अस्पताल बस्ने सोचमा नरहेको स्पष्ट पारे। “मेरो अवस्था राम्रै भएकाले अस्पताल जाने सोच थिएन,” उनले भने ।
तर केही दिनपछि अप्रेसन गरिएको ठाउँमा समस्या देखिएपछि बम्बईस्थित चिकित्सकसँग फोनमा सल्लाह लिएको जानकारी उनले दिए । “फलोअपमा आउनु पर्छ भनेपछि बसिरहनु पर्ने अवस्था देखिएन,” उनले भने, “बिग्रियो भने त ज्यानै जान सक्छ। त्यसैले बाहिर निस्किएको हुँ ।”
यसैबीच, राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र अझै हिरासतमा रहेको जानकारी दिँदै जबराले सरकारमाथि दबाब सिर्जना गर्न पार्टी कार्यकर्तालाई आन्दोलनमूलक कार्यक्रम गर्न निर्देशनसमेत दिएका छन् ।