काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले मंगलबार विशेष अदालतमा दायर गरेको मुद्दामा पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐन उल्लङ्घन गर्दै कुनै विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेको आरोप लगाएको छ।
अख्तियारका अनुसार, २०७७–०७८ आर्थिक वर्षको दौरान नगरपालिकामा सञ्चालन भएका ठेक्काका बोलपत्र आह्वानका सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेमा, कमलकुमार उपाध्यायको मिलेमतोमा पचरौता नगरपालिकाको अभिलेखमा राख्नका लागि मात्र प्रभाव दैनिक पत्रिकामा एकप्रति मात्र सूचना प्रकाशित गरिएको पाइएको छ।
यससँगै, अख्तियारले श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अंसारीलाई पनि मुद्दामा संलग्न गरेको छ।
यस मुद्दामा तीन लाख ५२ हजार ५६० रुपैयाँको बिगो कायम गर्दै दोषीलाई क़ैद, जरिवाना र बिगो असुलको माग गरिएको छ।