काठमाडौं । प्रधानमन्त्री बन्नेहरूले काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा गराउनुपर्ने तर्क राष्ट्रिय सभा सदस्य वामदेव गौतमले गरेका छन् ।
मंगलवार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले देश सञ्चालन गर्न सक्षम नहुनेले जनतामाझ स्पष्ट प्रतिबद्धता गर्नुपर्ने बताए ।
उनले भने, “प्रधानमन्त्री हुनेहरूलाई ल्याएर यदि मैले गर्न सकिनँ भने कान समातेर सय पटक उठबस गर्नेछु भन्ने वाचा गराउनुपर्छ । यदि समस्याको समाधान गर्न सकेनन् भने उनीहरू प्रधानमन्त्री बन्न लायक छैनन् ।”
समस्याको समाधान नगर्ने नेतृत्वले देशलाई अनिर्णयको बन्दी बनाएको भन्दै गौतमले अब स्पष्ट योजना र प्रतिबद्धतासहित मात्रै मुलुकको विकास सम्भव हुने धारणा राखे ।
त्यस्तै उनले देशको सम्पूर्ण जमिन राष्ट्रियकरण गरी योजनाबद्ध विकास गर्नु अपरिहार्य रहेको बताए । “पहिले सम्पूर्ण जमिन राज्यको नाममा ल्याउनुपर्छ,” गौतमले भने, “त्यसपछि मात्रै पानी, सडक, विद्यालयजस्ता पूर्वाधारका योजना बनाउनु उपयुक्त हुन्छ ।”
गौतमले अव्यवस्थित योजना र कार्यान्वयनका कारण देशको विकास रोकिएको भन्दै योजना निर्माणमा दीर्घकालीन सोच आवश्यक रहेको बताए ।