काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मेटा कम्पनीलाई ७ दिनभित्र नेपालमा दर्ता हुन अल्टिमेटम दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित विभागीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दर्ता नभए मेटामाथि नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।
राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी कार्यक्रममा मन्त्री गुरूङले मेटालाई दर्ताका लागि तीन पटकसम्म सूचना जारी गरिएको जानकारी दिए। “अस्ति म्याद सकियो, अब सात दिनभन्दा बढी दिन्नँ,” उनले स्पष्ट पारे।
गुरूङले फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामजस्ता मेटाका सेवा प्रयोगकर्ताबाट ठूलो मात्रामा पैसा मेटाको कार्यालयमा जाने भन्दै नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताएका छन् ।
उनले मेटाले नेपालको कुल गाहस्थ्य उत्पादन (जिडिपी) भन्दा बढी आम्दानी हुने घमण्ड गरेको उल्लेख गर्दै भने, “मुलुकको स्वाधीनता पैसामा जोड्न सकिन्न ।”
मन्त्री गुरूङले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी दिँदै मेटाले पनि त्यसैअनुसार प्रक्रिया पुर्याउनुपर्ने बताएका छन् ।