काठमाडौँ । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा नेपाली नागरिक सन्दीप न्यौपानेको हत्या गरिएको विषयमा पाकिस्तान दूतावासमा ध्यानाकर्षण गराएको छ ।
अभियानका महासचिव देवेस झाको नेतृत्वमा गएको टोलीले पाकिस्तान दूतावासका सैनिक प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै पाकिस्तानी भूमि प्रयोग गरेर भारतमा आतङ्क फैलाउने समूहविरुद्ध कारबाही गर्न माग गरेको हो ।
ज्ञापनपत्रमा हिन्दु नागरिकलाई धर्म सोध्दै गोली प्रहार गरिएको घटनामा नेपालका नागरिकलाई पनि लक्षित गरिएको भन्दै गम्भीर आपत्ति जनाइएको छ । उक्त घटनाबाट सम्पूर्ण नेपाली शोकाकुल भएको उल्लेख गर्दै आतङ्ककारी गतिविधिको तत्काल अन्त्यको माग गरिएको छ ।
वैशाख ९ गते जम्मु कश्मीरको पहलगाममा भएकाे हमलामा २६ जना मारिएका थिए, जसमा नेपाली युवा सन्दीप न्यौपाने पनि परेका थिए । जागरण अभियानले पाकिस्तानी सेना प्रमुख असिम मुनिरको भड्काउ अभिव्यक्तिबाट प्रभावित आतङ्ककारीहरूले हिन्दु नागरिकहरूको हत्या गरेको दाबी गरेको छ ।
दूतावासका सैनिक प्रमुखले पाकिस्तानको उक्त घटनामा कुनै संलग्नता नरहेको र भारतले जबरजस्ती पाकिस्तानको नाम जोडेको प्रतिक्रिया दिएका छन् ।