काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अबको बाँकी जीवन राष्ट्रका लागि योगदान दिने इच्छा व्यक्त गरेकी छन् । राष्ट्रिय समाचार समिति (रासस)ले प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्ने क्रममा भण्डारीले आफूले गृहस्थ जीवन पार गरिसकेकाले अब राष्ट्रको सेवामा समर्पित हुने बताएकी हुन् ।
उनले राजनीतिक दलहरू सत्ता र शक्तिका लागि केन्द्रित हुन थालेको चिन्ता व्यक्त गर्दै दलीय स्वार्थभन्दा राष्ट्रिय आकांक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइन् । “दलीय व्यवस्था स्वाभाविक भए पनि सरकार परिवर्तनको अस्थिरता र साना दलहरूको बार्गेनिङ प्रवृत्तिमा सुधार आवश्यक छ,” उनले भनिन् ।
पूर्वराष्ट्रपतिले सरकारका दीर्घकालीन, अल्पकालीन र तत्कालीन कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै पछिल्लो समय देखिएको तीव्र बसाइँसराइ जस्ता सामाजिक चुनौतीबारे गम्भीरतापूर्वक सोच्न आग्रह गरिन् ।
उनले मुलुकको विकासको ढाँचा परिवर्तन गर्नु पर्ने, नयाँ पुस्ताले तीव्र विकास चाहने भएकाले समयअनुकूल सोच्नुपर्ने धारणा पनि राखिन् ।
राजनीतिक स्थायित्व नहुनुमा निर्वाचन प्रणाली दोषी नभई व्यक्ति विशेषको स्वार्थ हावी भएको बताउँदै उनले भनिन्, “धेरै पार्टीले जित्दा पनि नेपाली नै जित्ने हो, दल मिलेर पाँच वर्ष चलाउन सकिन्न र ?”
शिक्षा, स्वास्थ्य तथा समग्र विकास क्षेत्रको सुधार आवश्यक रहेको पनि उनको भनाइ थियो ।