वीरगंज। नेकपा एमाले वीरगंज महानगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीको शपथ ग्रहण तथा सम्मान कार्यक्रम बिहीबार वीरगञ्जको क्लासिक बैंक्वेटमा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्वाचनको नतिजा सबैले स्वीकार्नुपर्ने र पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनले पार्टीको सिद्धान्तमा विवाद नरहेको र गुटबन्दीपूर्ण क्रियाकलाप गर्न कसैलाई छुट नहुने बताए ।
भट्टराईले आगामी निर्वाचनमा एमालेबाटै प्रतिनिधि चयन गरेर चुनाव लडाइने बताउँदै मधेश प्रदेशको बजेटका लागि प्रधानमन्त्रीसँग भेटघाट भएको र मधेश प्रदेशमा राम्रो बजेट आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पार्टी स्थायी कमिटीका सदस्य लिलानाथ श्रेष्ठले वीरगंज महानगर कमिटीलाई आगामी निर्वाचनमा विजय प्राप्त गर्न निर्देशन दिए । उनले पार्टीलाई एकताका साथ परिचालन गर्न आवश्यक रहेको चर्चा गर्दै महानगरले त्यस दिशामा काम गर्ने विश्वास व्यक्त गरे ।
नेकपा एमालेका वीरगंज महानगर कमिटीका इन्चार्ज विचारी यादवले पार्टीका केही नेताहरुले शपथ ग्रहण कार्यक्रमको अवमूल्यन गरेको जिकिर गरे । उनले पार्टी भित्र लेटरप्याड चोरी र अनधिकृत कामहरू बढ्दै गएकोले त्यसलाई रोक्न आवश्यक रहेको बताए।
कार्यक्रममा २ सय ५५ जना पुराना कम्युनिष्ट नेता तथा कार्यकर्तालाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द कुमार सिंह, मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।