वीरगंज | मिति २०८२ साल वैशाख १९ गते शुक्रबार बिहान ७:१५ बजे ग्रीन सिटी सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वीरगंज, रुँगता वेलफेयर सोसाइटी र वीरगंज सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा वीरगंज महानगरपालिका वडा नं १ स्थित छपकैया क्षेत्रको डोम बस्तीमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भयो ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त शिविरमा आँखा, कान र दाँतको निःशुल्क चेक जाँच गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र तथा अध्यक्षतामा ग्रीन सिटी सामुदायिक सेवाकेन्द्रका अध्यक्ष जयप्रकाश खेतान उपस्थित थिए ।
स्वास्थ्य शिविरबाट महिला १३० जना र पुरुष ८० जना गरी जम्मा २१० जनाले सेवा लिएका थिए । कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी वरिष्ठ नायव निरीक्षक केदार तिमिल्सेना, प्रहरी नायव निरीक्षक प्रदीप कुमार गोले, सामुदायिक आँखा अस्पतालका महेश सिंह धामी, समाजसेवी कमल चौगाई, कैलाश बजाज, लालबाबु गुप्ता, श्यामप्रसाद साह लगायत स्थानीय समाजसेवी तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
स्वास्थ्य शिविर विहान ७:१५ बजे सुरु भई करिब ९:३० बजे सफलतापूर्वक सम्पन्न भएको आयोजकहरूले जानकारी दिएका छन् ।