वीरगंज | जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर बन्धकको आरोपमा एक नाबालकसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूले बाराको कलैया उपमहानगरपालिका–१८ निवासी २६ वर्षीय सुधीरप्रसाद साहलाई अपहरण गरेका थिए ।
पर्सा प्रहरीका अनुसार अपहरणमा संलग्न २३ वर्षीय रिकेशकुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता (दुवै वीरगन्ज महानगरपालिका–१२ मुरली), २४ वर्षीय सिकेन्द्र साह (सखुवाप्रसौनी गाउँपालिका–३) र एक नाबालकलाई पक्राउ गरिएको हो ।
गत मंगलबार राति साह अपहरणमा परेका थिए। अपहरणपछि फिरौती माग गरिएको उजुरीको आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अपहृत साहलाई वीरगंजको मुरलीस्थित एक घरबाट सकुशल उद्धार गरिएको छ ।
पक्राउ परेका चारै जनामाथि अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।