बाराको सुवर्ण गाउँपालिकामा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् ।
गाउँपालिकाका विभिन्न वडामा लगातार चोरीका घटना भइरहेका छन् । पछिल्लो पटक सुवर्ण गाउँपालिका–१ चरमोहना गाउँका स्थानीय रामनरेश सिंहको घरबाट गएराति करिब २० तोला सुनका गरगहना चोरी भएको छ ।
यसअघि केही दिनअघि सुवर्ण गाउँपालिका–३ पचगछियामा अज्ञात चोरहरूको समूहले तीनवटा घरको पर्खाल फोडेर लाखौँ रुपैयाँ मूल्य बराबरको धनमाल चोरी गरेको थियो । स्थानीयका अनुसार महेन्द्रप्रसाद यादव, अनुठा महतो र तपसीप्रसाद यादवको घरमा चोरी भएको थियो।
चोरी भएका घरमध्ये एक घरबाट मात्रै करिब दुई लाख रुपैयाँ बराबरका सुनचाँदीका गरगहना तथा नगद चोरी भएको बताइएको छ ।
यसअघि सुवर्ण गाउँपालिका–४ हर्दिया, वडा नम्बर १ चरमोहना र वडा नम्बर ३ को घोठ गाउँमा समेत चोरीका घटना भएका थिए। घोठ गाउँमा तीनवटा घरबाट करिब पाँच लाख रुपैयाँ बराबरका गरगहना तथा नगद चोरी भएको थियो।
गाउँपालिकाका विभिन्न स्थानमा पटक–पटक चोरीका घटना दोहोरिन थालेपछि स्थानीयवासीले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्। उनीहरूले चोरी नियन्त्रणका लागि प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन प्रहरी प्रशासनसँग माग गरेका छन्।
स्थानीय युवा इन्जिनियर सुनिलकुमार यादवले चोरीका घटना नियन्त्रण गर्न सीसीटीभी क्यामेरा जडान, सडकबत्तीको व्यवस्था तथा प्रहरी गस्ती बढाउनुपर्ने माग गरेका छन्।
यसैबीच, घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्। चोरी भएका धनमालको यकिन विवरण अनुसन्धानपछि खुल्ने उनले बताए।