सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर पक्राउ परेका छन् । प्रहरीले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा आइतबार राति गोलबजारबाट पक्राउ गरेको हो ।
सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार घटनाबारे परेको जाहेरीका आधारमा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि प्रहरीले अनवरको खोजी गरिरहेको थियो। खोजतलासका क्रममा उनलाई पक्राउ गरिएको पालले जानकारी दिए ।
गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनापछि साउन १४ गते सिरहाको गोलबजारमा भएको घटनामा अनवर संलग्न रहेको आरोप छ। उनीविरुद्ध ‘हिन्दु सम्राट सेना’ नामक संस्थाले प्रहरीमा जाहेरी दिएको थियो ।
प्रहरीमा दर्ता भएको जाहेरीमा गोलबजारमा दंगा भड्काउन तथा तोडफोड र आगजनीका घटनामा वडाध्यक्ष अनवरको मुख्य भूमिका रहेको आरोप लगाइएको छ ।
प्रहरी प्रवक्ता पालका अनुसार उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका अनवरमाथि लगाइएका आरोपको अनुसन्धानपछि घटनाको थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।