पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक युवकलाई वीरगंजबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय रोजन भुजेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकै प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले भारततर्फ लैजाँदै गरिएको अवस्थामा दुई युवतीलाई रोकेर अनुसन्धान गर्दा मानव बेचबिखनको प्रयास खुलासा भएको हो ।
प्रहरी नायब उपरिक्षक (डीएसपी) किशोर लम्सालका अनुसार, प्रारम्भिक अनुसन्धानबाट युवतीहरूलाई ‘वीरगंज वा हेटौंडाको कपडा कारखानामा राम्रो तलबसहितको काम लगाइदिन्छु’ भनेर प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेको थाहा भएको छ ।
सोधपुछको क्रममा युवतीहरू आफैं पनि वास्तविक अवस्थाबारे अन्जान रहेको र भुजेलसँग पहिले देखिको चिनजान नभएको जानकारी दिएकी छन् । पक्राउ परेका भुजेललाई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको डीएसपी लम्सालले जानकारी दिए ।
भुजेलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिमको कसूरमा मुद्दा चलाइएको छ । प्रहरीले पीडित युवतीहरूलाई सुरक्षाको व्यवस्थासहित आवश्यक परामर्श प्रदान गरिएको जनाएको छ ।
पर्सा प्रहरीले भारत सीमा क्षेत्रमा भइरहेको अवैध मानव ओसारपसारविरुद्ध निगरानी कडा पारिएको जनाएको छ । पछिल्लो समय भारत सीमा नजिकैका बिन्दुहरूमा मानव तस्करीको प्रयास बढिरहेकोले स्थानीय र सुरक्षाकर्मीको सचेतता आवश्यक भएको प्रहरीको भनाइ छ ।