रौतहटको मुख्य व्यापारिक केन्द्र चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुर क्षेत्र अब सिसिटिभी क्यामेराको निगरानीमा रहने भएको छ ।
नगर क्षेत्रमा हुने चोरी, लुटपाट, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधिहरू नियन्त्रण गर्न चन्द्रपुर नगरपालिकाले प्रहरीसँग सहकार्य गर्दै नगरका विभिन्न स्थानहरूमा सिसिटिभी क्यामेरा जडान गरेको हो ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईका अनुसार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको पहल र नगरपालिकाको आर्थिक सहयोगमा हाल नगरका विभिन्न चोक, सडक, कार्यालय तथा व्यस्त क्षेत्रहरूमा १४ वटा नयाँ सिसिटिभी क्यामेरा जडान गरिएको छ । तीमध्ये ६ थान एनपिआर (नम्बर प्लेट रिडिङ) प्रणालीयुक्त छन्, जसले राती वा दिन कुनै पनि समय सवारी साधनको नम्बर प्लेट पढ्न सक्छन् ।
यसअघि नै जडान गरिएको ३२ वटा क्यामेरासहित हाल नगर क्षेत्रमा कुल ४६ वटा क्यामेराबाट निगरानी भइरहेको छ । यी सबै क्यामेराबाट नगरका सुरक्षासम्बन्धी गतिविधिको २४ घण्टा अनुगमन भइरहेको र आवश्यकता अनुसार थप क्यामेरा पनि जडान गरिने डीएसपी राईले जानकारी दिए ।
नगरप्रमुख सञ्जय काफ्लेले अपराध नियन्त्रणका लागि प्रविधिको प्रयोग अपरिहार्य भएको भन्दै चन्द्रपुरका १० वटै वडामा चरणबद्ध रूपमा क्यामेरा जडानको योजना अघि बढाइएको बताए । उनले नगर शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने र प्रहरीले माग गरे अनुरूप आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
प्रविधिमैत्री सुरक्षा प्रणाली सुरु भएपछि चन्द्रपुरमा आपराधिक क्रियाकलापमा कमी आउने अपेक्षा गरिएको छ। स्थानीय व्यापारी र सर्वसाधारणले यो कदमलाई सकारात्मक परिवर्तनको रूपमा लिएको प्रतिक्रिया दिएका छन् ।
सम्बन्धित समाचार
निजगढमा सुरक्षाका लागि जडान गरिएका २० मध्ये १९ सिसिटिभी क्यामेरा बिग्रेको अवस्थामा, सुरक्षा व्यवस्थामा चुनौती