पूर्व–पश्चिम महेन्द्र राजमार्ग तथा निजगढ नगर क्षेत्रका प्रमुख स्थानमा सार्वजनिक सुरक्षाका लागि जडान गरिएका अधिकांश सिसिटिभी क्यामेरा विग्रिएर वर्षौंदेखि बन्द भए छन् ।
निजगढ नगरपालिकाको आर्थिक सहयोगमा करिब सात वर्षअघि जडान गरिएका १६ वटा र गत वर्ष थप चारवटा गरी कुल २० वटा क्यामेरामध्ये हाल केवल एकवटा मात्र क्यामेरा सञ्चालनमा रहेको छ । हाल सञ्चालनमा रहेको सिसिटिभी क्यामेरा महेन्द्र राजमार्गस्थित शहीद चोकमा रहेको हो ।
इलाका प्रहरी कार्यालय (इप्रका) निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार भित्री सडकहरू – क्याम्पस रोड, ठाडोलाइन, नदीकाट, तेस्रोलाइन, प्रकाशबस्ती, प्राथमिक स्वास्थ्य केन्द्र जाने चौबाटो लगायतका स्थानमा पनि क्यामेरा जडान गरिएको भए पनि ती सबै बन्द अवस्थामा रहेका छन् ।
प्रहरी निरीक्षक लामिछाने भन्छन्, “चारवटा नयाँ क्यामेरा गत वर्ष सार्वजनिक स्थलहरूमा जडान गरियो, तर ती सबै अहिले बन्द छन् । एक मात्रै क्यामेरा चलिरहेको छ ।” उनका अनुसार यसले राजमार्गमा हुने अपराधजन्य गतिविधि नियन्त्रण र निगरानीमा कठिनाइ उत्पन्न गरिरहेको छ ।
नगरपालिकाले सिसिटिभी विस्तारको प्रतिबद्धता जनाए पनि मर्मत सम्भारतर्फ चासो नदिएको गुनासो प्रहरी प्रशासनको छ । यद्यपि वडा कार्यालयहरूले सुरुमा प्राथमिक रुपमा केही स्थानमा जडान गरिएको र आवश्यकता अनुसार विस्तार गरिने योजना रहेको बताएका थिए ।
सिसिटिभी क्यामेराको अभावले शङ्कास्पद गतिविधि पहिचान गर्न, चोरी, ठगी वा अन्य आपराधिक क्रियाकलापको निगरानी गर्न समस्या भएको छ । यहाँका बैंक, वित्तीय संस्था, पसल तथा आवासीय क्षेत्रका सुरक्षा निगरानीका लागि सिसिटिभी आवश्यक भए पनि निजी क्षेत्रको चासो अत्यन्त न्यून देखिएको प्रहरीको भनाइ छ ।
“सिसिटिभी जडान गरेर स्थानीय जनतालाई सुरक्षा दिदै आएका छाै तर अब समस्या भएकाे छ,” प्रहरी निरीक्षक लामिछानेले बताए । उनका अनुसार यस्ता उपकरण नियमित रूपमा मर्मत सम्भार नगरिएमा आउने दिनमा समस्या निम्तयाउन सक्छ ।
सुरक्षा उपकरणहरूको प्रभावकारिता कायम राख्न नगरपालिका, प्रहरी प्रशासन र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताउँदै प्रहरी निरीक्षक लामिछानेले नगरवासी, व्यवसायी र संघसंस्थाहरुलाई पनि सिसिटिभी प्रणालीमा जिम्मेवारी बाँडे निरन्तर मर्मत सम्भार तथा सुरक्षा प्रदान गर्न सकिन्थ्याे ।
यसका अलावा नगरपालिकाले बजेटबाट सिसिटिभी मर्मत सम्भार, नेटवर्क अपग्रेड, विद्युत् जडान र आवश्यक प्रविधिक व्यवस्थापन गरे सधैका लागी समस्या समाधान हुनेथिए ।