प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा न्यून योगदान गरेका तर उच्च असर भोगिरहेका संवेदनशील राष्ट्रहरूलाई विशेष प्राथमिकता दिई सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
शुक्रवार काठमाडौँमा सुरु भएको तीनदिने ‘सगरमाथा संवाद’ सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वातावरण संरक्षणमा विश्व समुदाय एकजुट हुनु अपरिहार्य भएको बताएका हुन् । “हाम्रा हिमाल जलभण्डारणका महत्वपूर्ण स्रोत हुन्, तर अहिले गम्भीर संकटमा परेका छन्,” प्रधानमन्त्री ओलीले भने, “हिमाल बचाउने कार्य भनेको जलवायु अनुकूलनको उपाय हो, र यो कार्यमा विश्वले सँगसँगै हातेमालो गर्नुपर्छ ।” उनले जलवायु संकटमा सबैभन्दा बढी प्रदूषण गर्ने राष्ट्रहरूले नै सबैभन्दा बढी योगदान गर्नुपर्ने उल्लेख गरे ।
“संवेदनशील राष्ट्रहरूलाई वित्त, प्रविधि र क्षमता अभिवृद्धि गरेर सहयोग गर्नुपर्छ,” ओलीले स्पष्ट गरे । प्रधानमन्त्री ओलीले हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता नै जोगाउनु हो भन्ने धारणा व्यक्त गर्दै जलवायु संरक्षणको बहुआयामिक सन्देश दिएका थिए ।
‘सगरमाथा संवाद’ मा विश्वका ३५ भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी छन् । सम्मेलनमा विश्व बैंक, एशियाली विकास बैंक, बिम्स्टेक, सार्क लगायत ६१ वटा अन्तरराष्ट्रिय तथा क्षेत्रीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको छ । तीन दिनसम्म चल्ने यो संवादले हिमाली क्षेत्रको वातावरणीय संकट र विश्वव्यापी जलवायु मुद्दामा साझा समाधानका उपायहरूबारे छलफल गर्नेछ ।