जनकपुर प्रादेशिक अस्पतालले हृदयघातसहितका जटिल मुटु रोगको उपचारका लागि नियमित क्याथ ल्याब सेवा औपचारिक रूपमा सुरु गरेको छ ।
अस्पतालका निर्देशक डा जामुन प्रसाद सिंहका अनुसार अब अस्पतालमा नियमित रूपमा अन्जियोग्राफी एञ्जियोप्लास्टि कर्डियाक पेसमेकर जस्ता सेवा प्रदान गरिनेछ । डा सिंहले प्रदेश सरकारको सहयोगमा मुटु रोग विभागमार्फत् सेवा नियमित रूपमा सुरु गरिएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत् दिएका हुन् ।
चार वर्षअघि खरिद, तर नियमित सेवा ढिलो
आर्थिक वर्ष २०७७ / ०७८ मै अस्पतालले क्याथ ल्याब उपकरण खरिद गरिसकेको भए पनि विभागीय जनशक्ति अभावका कारण सेवा लामो समयसम्म थन्किएको थियो ।
त्यसपछि अस्पतालका तत्कालीन निर्देशक डा पण्डितको पहलमा सेवा परीक्षणरूपमा सञ्चालनमा आए पनि जनशक्ति नहुँदा नियमित सेवा दिन सम्भव भएन । तर पछिल्लो समय जनकपुरस्थित गंगालाल हृदय केन्द्रको शाखा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत गइसकेपछि, त्यहाँ कार्यरत मुटु रोग विशेषज्ञ र प्रादेशिक अस्पतालका चिकित्सकहरूको समायोजन गरिँदै सेवा नियमित रूपमा सञ्चालनमा ल्याइएको हो ।
विशेषज्ञ टोलीबाट सेवा सुरु
हाल क्याथ ल्याब सेवा डा अमित सिंह, डा राजेश साह र डा निश्चल साह जस्ता अनुभवी मुटुरोग विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा सञ्चालन गरिने भएको छ ।
यो सेवाबाट मधेश प्रदेश र आसपासका जिल्ला तथा सीमावर्ती भारतका बिरामीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । हृदयघात, मुटुको ब्लकेज, धड्कनको गडबडी लगायतका समस्यामा तत्काल उपचार आवश्यक पर्न सक्छ। यस्ता अवस्थामा अब बिरामीलाई राजधानी काठमाडौं वा भारत लैजानुपर्ने बाध्यता हट्नेछ ।
जनकपुर प्रादेशिक अस्पतालको यो कदमले मधेश प्रदेशको स्वास्थ्य सेवा प्रणालीमा एक महत्वपूर्ण प्रगति दर्शाउने चिकित्सा क्षेत्रका जानकारहरू बताउँछन् ।