पर्सा जिल्लालाई शनिबार एक विशेष समारोहका बीच 'पूर्ण खोप सुनिश्चित जिल्ला' को रूपमा औपचारिक घोषणा गरिएको छ ।
“पूर्ण खोप, सुनिश्चित भविष्य” भन्ने नारासहित वीरगञ्जस्थित क्लासिक होटलमा आयोजित कार्यक्रममार्फत यो घोषणा गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय पर्साको आयोजनामा सम्पन्न भएको ‘पूर्ण खोप सुनिश्चितता दिगोपन घोषणासभा कार्यक्रम’ मा प्रमुख अतिथि मधेश प्रदेशका स्वास्थ्य मन्त्री सत्रुधन सिंह रहनुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन प्रसाद सोनार अध्यक्षतामा थिए ।
स्वास्थ्य मन्त्री सिंहले आफ्नो मन्तव्यमा खोप अभियानले सुरक्षित भविष्य निर्माणमा पुर्याउने भूमिकालाई विशेष महत्व दिनुभयो । उहाँले प्रदेश सरकारले पूर्ण खोप सुनिश्चितता अभियानलाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेको उल्लेख गर्दै स्वास्थ्यकर्मी, स्थानीय तह र आम नागरिकलाई अभियानमा सहकार्य गरेकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रमका दौरान जिल्ला स्वास्थ्य कार्यालय पर्साले खोप अभियानका उपलब्धि, चुनौती र आगामी रणनीतिबारे विस्तृत प्रस्तुति दिएको थियो । साथै, खोप अभियानमा उल्लेखनीय योगदान दिने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूलाई सम्मानपत्र तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
घोषणा कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्याल, नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमन लाल दास, पोखरिया नगरपालिकाका प्रमुख प्रदुमन चौरसिया, स्वास्थ्य प्रबन्धक विपिन ओझा लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, यो घोषणा पर्सा जिल्लालाई स्वास्थ्य सेवा दिगोपन तथा जनस्वास्थ्य सुरक्षाको दिशामा प्रेरक उपलब्धि बन्ने विश्वास गरिएको छ ।