बाराको विश्रामपुर गाउँपालिकामा विकास निर्माणका नाममा भइरहेको अनियमितता उजागर गर्ने समाचार प्रकाशित–प्रसारित भएपछि पत्रकारलाई दिइएको गालीगलौज र भौतिक आक्रमणको धम्कीप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण गराएको छ।
वीरगञ्ज सिटी डटकमका लागि कार्यरत क्यामरापर्सन राजु बैठालाई जेठ ४ गते राति करिब ९ बजे स्थानीय टइट यादवसहितको समूहले घरमै पुगेर गालीगलौज गर्दै धम्की दिएका थिए । पत्रकार बैठाले वैशाख २५ गते “विश्रामपुर गाउँपालिकामा मिलेमतोमा अनियमितता, एकातर्फ तटबन्ध निर्माण अर्कोतर्फ ५/५ फिट माटो खनेर बिक्री” भन्ने शीर्षकमा वीरगंज सिटीडटकमका लागी रिपोर्टिङ गरेका थिए । सोही समाचारप्रति आक्रोशित हुँदै यादव समूहले “खेल देखाउने” र भौतिक हिसाबले “सबक सिखाउने” शैलीमा धम्की दिएको उजुरीमा उल्लेख छ ।
घटनासम्बन्धी अडियो–भिडियो प्रमाणसमेत उपलब्ध रहेको जनाइएको छ । उक्त धम्की क्यामरापर्सनको निज निवासमै पुगेको अवस्थामा दिइएकोले यो प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र गम्भीर सुरक्षा चुनौती भएको पत्रकार महासंघ, पर्सा शाखाले ठहर गरेको छ ।
महासंघका सचिव विजयकुमार महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “प्रसारण सामग्रीप्रति असहमति वा असन्तुष्टि भए कानूनी बाटो अवलम्बन गर्न सकिने अवस्था रहँदा समेत शारीरिक हिंसा वा धम्की दिनु प्रेस स्वतन्त्रताको खिल्ली उडाउनु हो । पत्रकारमाथि भएको यस्तो व्यवहारको हामी घोर निन्दा तथा भर्त्सना गर्दछौं ।”
महासंघले दोषी व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रहरी प्रशासनलगायतका सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । साथै, पत्रकारको सुरक्षालाई राज्यले ग्यारेन्टी गर्नुपर्ने र यस्ता घटनाले लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनाउने चेतावनी समेत दिएको छ ।
साथै, महासंघले यस घटनालाई प्रेस स्वतन्त्रता र पत्रकारिताको आत्मसम्मानमाथिको गम्भीर हमलाको रुपमा लिएको छ र आगामी दिनमा यस्ता पुनरावृत्ति रोक्न स्थानीय तहका जनप्रतिनिधि तथा प्रशासनिक संयन्त्र सचेत रहनुपर्ने आवश्यकता औंल्याएको छ ।
यसअघि पनि पर्सा, बारा र आसपासका जिल्लामा अनुसन्धानात्मक पत्रकारिताका कारण विभिन्न सञ्चारकर्मी धम्कीको शिकार भइरहेका तथ्यहरू सार्वजनिक हुँदै आएका छन् । पत्रकार महासंघ पर्साले यस्ता घटना बढ्दै जानुले लोकतान्त्रिक अभ्यासमै गम्भीर खतरा देखिएको उल्लेख गर्दै सम्पूर्ण सञ्चार माध्यम, नागरिक समाज, कानुन व्यवसायी तथा मानव अधिकारकर्मीलाई पनि एकजुट हुन अपील गरेको छ ।