पर्सा राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालय अन्तर्गतका वन क्षेत्रमा हरिण र बँदेलको चोरी सिकार तीव्ररूपमा बढ्दै गएको छ ।
पर्सा जिल्लाका विभिन्न स्थानीय तहमा रातको समयमा वन्यजन्तु शिकार गरी मासु वितरण र बिक्री गर्ने कार्य व्यापक बनेको पाइएको छ । सखुवाप्रसौनी गाउँपालिकाको मधुवन मथवल, सखुवनिया, सिधपुर, अकवनिया, पर्सागढी नगरपालिकाका मनवा, भटिनी, कटानी, पशुपतिनगरको झबराहा, बढनिहार, तामाङ टोल, पटेर्वा सुगौली गाउँपालिकाको चाफी, थरघटी, मल्लुलेटारी, कञ्चनपुर, बैरिया, गदियानी, भतौडा, जीराभवानी गाउँपालिकाको शङ्करसरैया, हरैया, सखुनिया, वसन्तपुर तथा ठोरी गाउँपालिकाको विजयबस्ती, शिकारीबास, ठोरीलगायतका क्षेत्रमा वन्यजन्तुको चोरी सिकार बढेको हो ।
गोली र पासो प्रयोग गरेर मारिन्छ वन्यजन्तु
स्थानीयवासीहरूका अनुसार रातको समयमा खेतमा बाली खान आउने बँदेल र हरिणलाई स्थानीय तस्करहरूले गोली हानी वा पासो थापी मार्ने गरेका छन् । त्यसपछि मासु काटी स्थानीयस्तरमै वितरण वा बिक्री गरिने गरेको छ ।
जैविक विविधतामा असर
वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार हरिण र बँदेल जस्ता वन्यजन्तुको चोरी सिकार गैरकानूनी हो । वातावरणविद्हरूले यस्तो कार्यले जैविक विविधता र पारिस्थितिक सन्तुलनमा गम्भीर असर पार्ने चेतावनी दिएका छन् । वन क्षेत्रमा बढ्दो शिकारसम्बन्धी गतिविधिबारे स्थानिय बासिन्दाहरूले जानकारी दिएका भए पनि सम्बन्धित निकायबाट ठोस नियन्त्रण उपाय अपनाइएको छैन् ।
पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले यस्ता कार्य रोक्न प्रभावकारी अनुगमन तथा कारबाही अघि नबढाएकोप्रति आलोचना हुँदै आएको छ । – प्रतीक दैनिकबाट साभार गरिएकाे
भिडियाे सामाग्री