सप्तरी | सप्तरीको सप्तकोशी नगरपालिका–५ गंगाजलीमा आयोजना हुन लागेको दुई दिने आदिवासी जनजाति साहित्य महोत्सव २०८३ को तयारी पूरा भएको आयोजकले जनाएको छ । कात्तिक १४ र १५ गते शनिबार र आइतबार सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।
सप्तकोशी नगरपालिका–५ वडा कार्यालयको आयोजनामा हुन लागेको महोत्सवका लागि मञ्च निर्माण, पण्डाल व्यवस्थापन तथा सरसफाइको काम तीव्र रूपमा भइरहेको वडाध्यक्ष गोसाइँ चौधरीले जानकारी दिनुभयो ।
आदिवासी जनजातिको मौलिक पहिचानको संरक्षण, अधिकारको सुनिश्चितता तथा समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि साहित्य र नीतिबीच संवाद स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
महोत्सवमा नेपालका विभिन्न जिल्ला तथा भारतका आदिवासी जनजाति अगुवा, अभियन्ता, साहित्यकार, कलाकार, पत्रकार, जनप्रतिनिधि र विषयविज्ञहरूको सहभागिता रहनेछ । कार्यक्रममा आदिवासी जनजातिका भाषा, साहित्य, कला, संस्कृति, परम्परागत ज्ञान, सीप, प्रथाजनित अभ्यास तथा अधिकारको संरक्षण र पुस्तान्तरणका विषयमा छलफल गरिनेछ ।
त्यसैगरी संवैधानिक तथा अन्तर्राष्ट्रिय अधिकार, आदिवासी जनजाति आन्दोलन, संघीयता, भाषा तथा संस्कृति संरक्षण, प्रथाजनित प्रणाली, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महासन्धि १६९, आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (यूएनड्रिप), जलवायु परिवर्तन, कार्बन व्यापार तथा लाभांश बाँडफाँटलगायत विषयमा नीतिगत बहस हुने प्रचारप्रसार समितिकी सदस्य तथा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रकी फिल्ड अधिकृत सरिता चौधरीले जानकारी दिनुभयो ।
कात्तिक १४ गते शनिबार बिहान ११ बजे मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा मधेश प्रदेशका सभामुख रामअशिष यादव, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष तथा गण्डकी प्रदेशका पूर्वमन्त्री निमा लामा ह्योल्मो, लुम्बिनी प्रदेशका पर्यटनमन्त्री तुलसी थारु, संविधानसभा सदस्य पासाङ शेर्पा, मधेश प्रदेशका सांसद राजकुमार लेखी र थारु आयोगका कार्यवाहक प्रमुख सुबोधसिंह थारुलगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।
त्यस्तै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय अध्यक्ष लक्की चौधरी, आदिवासी जनजाति महासंघका महासचिव विमल सारु मगर, पूर्वमहासचिव आङकाजी शेर्पा, पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी तथा प्राध्यापक पासाङ डोल्मा शेर्पाले पनि कार्यक्रममा विचार व्यक्त गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवमा भारतको उत्तर प्रदेशस्थित आदिवासी जनजाति कल्याण महासंघका अध्यक्ष विजयबहादुर चौधरी, बिहार राज्यका थारु कल्याण महासंघका अध्यक्ष शैलेन्द्र गढवाल, प्राध्यापक महेश चौधरी तथा आदिवासी जनजाति अभियन्ता नरेन्द्र लामा र सरिता चौधरीलगायतले पनि विचार प्रस्तुत गर्नेछन् ।
आयोजकका अनुसार महोत्सवमा नेपालका करिब ४५ जिल्ला तथा भारतको बिहार र उत्तर प्रदेशका विभिन्न जिल्लाबाट गरी करिब एक हजार आदिवासी जनजातिको सहभागिता रहनेछ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, विभिन्न जातजातिको पहिचान झल्किने गीत, नृत्य, साहित्यिक रचना तथा कविता प्रस्तुत गरिनेछ ।
महोत्सवमा सहभागी हुने अतिथि तथा वक्ताहरूको आवास र खानाको व्यवस्थापनसमेत पूरा भएको आयोजकले जनाएको छ । आयोजकले जनप्रतिनिधि, साहित्यकार, कलाकार, पत्रकार, युवा, विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई महोत्सवमा सहभागी हुन आग्रह गरेको छ ।