प्रमुख चाडपर्वका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग विस्तारको काम ठप्प बनेको छ । सर्लाही, महोत्तरी र धनुषा जिल्लामा पर्ने कमला–ढल्केबर–बागमती खण्डको राजमार्ग चार लेनमा विस्तार गर्न खटिएका अधिकांश कामदार दसैँअघि नै घर गएका छन् । उनीहरू तिहार तथा छठसम्म पर्व मनाउन र धानबाली भित्र्याउन व्यस्त हुने छन् ।
धुलो उडेर कुहिरोमण्डल रहेको महेन्द्र राजमार्ग विस्तारको काम अझै एक महिनाजति ठप्प रहने सम्भावना छ । रसुवा कन्स्ट्रक्सनका प्रतिनिधि विश्वमित्र रिजालले कामदार अभावले गर्दा राजमार्गको काम रोकिएको जानकारी दिनुभयो ।
चाडपर्व, कामदार अभाव र मौसमसमेत प्रतिकूल बनेकाले काममा बाधा पुगेको रिजालको भनाइ छ । उहाँले भन्नुभयो, “दसैँअघि गएका कामदारलाई अब बिचमा बोलाउने अनि फेरि पठाउने गर्नुभन्दा एकै पटक छठपछि आउने गरी छुट्टी दिएका छौँ । चाडबाड सकिएपछि फटाफट काम हुन्छ ।” तीन वटै जिल्लामा अहिले फाट्टफुट्ट एक/दुई ठाउँमा पुलको काम गरिरहेका दुईरचार जना कामदार मात्र देखिन्छन् । कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) का आयोजना प्रमुख एवं सिनियर डिभिजन इन्जिनियर राजेशकुमार दासले राजमार्ग विस्तारमा दसैँ बिदाको प्रभाव देखिएको बताउनुभएको छ ।
अहिले छिटपुट पुलका काम भए पनि सडकको काम छठपछि हुने आशमा बसिरहेको दासको भनाइ छ । उहाँले भन्नुभयो, “मुख्य काम त सडकको हो तर सडकको काम नै प्रारम्भ भएको छैन । दुईरचार जना कामदार खटिएर यसो पुलको काम मात्र गरेको देखिन्छ ।” राजमार्ग विस्तारका लागि ठेक्का लागेको अवधि ७० प्रतिशत गुज्रिसकेको तर काम भने ३० प्रतिशतको हाराहारीमा भएको आयोजना प्रमुख दासको भनाइ छ । ३० प्रतिशत काम पनि पुल निर्माणतर्फको मात्र हो ।
अत्यन्त सुस्त गतिमा अघि बढेको राजमार्ग विस्तारको कामलाई गति दिन विभिन्न सरकारी निकाय र निर्माण व्यवसायीलाई बारम्बार घचघच्याउने काम गरिरहेको आयोजना प्रमुख दासले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साइड क्लियर गराउन म आफैँ कहिले जनकपुर त कहिले जलेश्वर धाइरहेको छु तर पनि लक्ष्य अनुसार प्रगति हुनै सकेको छैन ।”
दुई साताअघि पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले निर्माणाधीन महेन्द्र रामाजर्गको निरीक्षण गर्दै निर्माणमा ढिलो हुँदै गए नागरिकले धुलोसहितको अन्य सास्ती लामो समयसम्म खेप्नुपर्ने भएकाले कामको गति बढाउन निर्देशन दिनुभएको थियो । उहाँले अलपत्र अवस्थामा रहेको सडकका कारण नागरिकले सास्ती खेप्नु परेको चिन्ता व्यक्त गर्नुभएको छ ।
तीन वर्षभित्र धनुषाको कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्मको ७४.७५ किलोमिटर सडकलाई बजार क्षेत्रमा छ लेन र अन्यत्र चार लेनमा विस्तार गर्न पहिलो खण्ड कमला पुलदेखि बडहरीसम्म (२२ किलोमिटर) भारतको इकेके इन्फ्रास्ट्रक्चर लिमिटेडले ठेक्का लिएको छ । दोस्रो खण्ड बडहरीदेखि सर्लाहीको फूलजोरसम्म (२९ किलोमिटर) चिनियाँ कम्पनी एसडब्लुइजी र नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सन र तेस्रो खण्ड फूलजोरदेखि बागमती पुलसम्म (२३ किलोमिटर) चिनियाँ कम्पनी एसडब्लुइजी र नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सन कम्पनीले नै ठेक्का सकार गरेका छन् । परियोजना कार्यालयका अनुसार धनुषा खण्डमा ३० प्रतिशत, महोत्तरी खण्डमा २८ प्रतिशत र सर्लाहीमा ३६ प्रतिशत काम सम्पन्न भएको छ ।
निर्माण व्यवसायीले पुलको कामपछि अब चाडबाड सकिनासाथ सडकको काम गर्ने तयारी रहेको तर धेरै ठाउँमा साइड क्लियर नभएको तथा माटोको चरम अभाव रहेको गुनासो गरेका छन् । माटोको उत्खनन र सहज आपूर्तिका लागि सडक आयोजनाले जिल्ला प्रशासन, जिल्ला प्रहरी, डिभिजन वन कार्यालय, पालिकालगायत निकायसँग समन्वय र संवाद अघि बढाएको छ ।