बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित हेटौँडा–पथलैया सडकखण्डमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो नेपाल आयल निगमको डिपो नजिक डिजेल बोकेको ट्यांकर, विद्युतीय हाइस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल बोकेको ट्यांकरमा वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको ग.२ ख १९९३ नम्बरको हाइस ठोक्किएको थियो । त्यसपछि हाइसको पछाडि धरानबाट हेटौँडातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा ट्यांकर चालक, हाइस चालक, मोटरसाइकल चालक तथा हाइसमा सवार यात्रुसहित १० जना घाइते भएका छन् ।
घाइते सबैको अमलेखगञ्जस्थित स्थानीय अक्कलबहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।