साउदी अरबस्थित इस्लाम धर्मका पवित्र स्थल मक्का र मदिना जानका लागि मधेश प्रदेशबाट ४२५ जना हजयात्री मंगलबार प्रस्थान गरेका छन् ।
बकरईद पर्व मनाउने उद्देश्यसहित उनीहरूले ४० दिने हज यात्रा थालेका हुन् । प्रदेशका ८ वटै जिल्लाबाट हजयात्रीहरू मक्का–मदिनाका लागि गएका छन् । सप्तरीबाट ६८, सिरहाबाट २८, धनुषाबाट २९, महोत्तरीबाट ४१, सर्लाहीबाट २८, रौतहटबाट १२२, बाराबाट ३८ र पर्साबाट ७१ जना रहेका छन् ।
हज इस्लाम धर्ममा अनिवार्य धार्मिक कर्तव्य हो । मुस्लिम धर्मगुरुहरूका अनुसार जीवनमा एकपटक हज गर्नु अनिवार्य मानिन्छ। हज यात्रा गर्नेलाई 'हाजी' भनिन्छ । “हज गरेपछि व्यक्ति पवित्र भइ नयाँ जन्मेको शिशु सरह शुद्ध हुन्छ भन्ने धार्मिक विश्वास मुस्लिम समुदायमा रहिआएको छ ।”
मक्का–मदिनाको धार्मिक यात्रा अन्तर्गत हजयात्रीहरूले ३० दिन मक्का र १० दिन मदिनामा बिताउने छन्। मक्कामा खाना–ए–काबा मा सात पटक परिक्रमा (तवाफ) गर्ने, मिना, मुद्दलिफा र आराफात क्षेत्रमा ५ दिन बास बस्ने र इद–उल–अजहा (बकरईद) का दिन विशेष नमाजसहित कुर्बानी दिने धार्मिक विधि पूरा गर्नेछन् ।
त्यसपछि उनीहरू पैगम्बर मोहम्मदको जन्मभूमि र कब्र रहेको मदिना पुग्नेछन्, जहाँ १० दिन विशेष नमाज पढेपछि हज सम्पन्न हुने धार्मिक मान्यता छ ।
चन्द्रमाको उपस्थितिअनुसार ईदको मिति तय हुने भएकाले हजको समय पनि इस्लामी पात्रोकै आधारमा तय गरिन्छ। मक्का सहर साउदी अरबको जेद्दाबाट ८० किलोमिटर टाढा अवस्थित छ ।