नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा देशको पहिलो शर्त र आवश्यकता भएको बताएका छन् । मधेस प्रदेशको राजधानी जनकपुरमा शुक्रबार आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले देशको समुन्नतिका लागि सुरक्षाको स्थायित्व अनिवार्य भएको बताए ।
गोष्ठीमा गृहमन्त्री लेखकले सीमाक्षेत्रबाट दैनिक भइरहेको चोरी–पैठारीका कारण राजस्वमा गिरावट आएको र आन्तरिक व्यापारमा कमजोर प्रभाव परेको बताए। सीमामा अपराध बढिरहेकाले त्यसको नियन्त्रणका लागि सुरक्षा निकायलाई मेहनतका साथ खटिन निर्देशनसमेत दिए ।
उनले भने, “नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको देश हो। त्यसैले विपद् प्रतिकार्यमा पूर्ण तयारी आवश्यक छ । सुरक्षा निकायहरूको भूमिका यसमा अत्यन्त महत्वपूर्ण हुन्छ ।”
गृहमन्त्री लेखकले हाल देशभर लागुऔषधको समस्या विकराल बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । लागुऔषधको दुरुपयोगका कारण समाजमा सवारी दुर्घटना, मानसिक तनाव, डिप्रेसन र आत्महत्याका घटनाहरू बढ्दै गएको भन्दै उनले सुरक्षा निकायहरूलाई नियन्त्रणका लागि सशक्तरूपमा खटिन निर्देशन दिए ।
उनले थपे, “देशमा हरेक दिन औसतमा करिब ७ जनाको ज्यान सडक दुर्घटनामा र १७ जनाको ज्यान आत्महत्याका कारण गइरहेको छ । यी दुबै समस्यालाई नियन्त्रण गर्न अब गम्भीर रूपमा लाग्नुपर्छ ।”
गोष्ठीमा प्रदेशका प्रमुख सुरक्षा निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो ।