नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई अध्यागमन विभागमा उठेको भ्रष्टाचारको विषयमा नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गृहमन्त्री लेखकको राजीनामा आवश्यक रहेको बताएका हुन् ।
कोइरालाले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सहयोग गरेका उदाहरण दिँदै भने, “नैतिकताको हिसाबले म क्लिन छु, मैले राजीनामा गरेँ, छानबिन समिति बनाउनुहोस् भन्न सके भैहाल्छ नि। त्यसले नैतिक स्थिति देखिन्छ ।”
उनले गम्भीर प्रश्न उठेको अवस्थामा पदमा बसिरहनु उपयुक्त नहुने धारणा राख्दै लेखकको राजीनामाले नैतिकता सुदृढ हुने जिकिर गरे ।
संवैधानिक निकाय ‘रिटायरमेन्ट क्लब’ जस्तो बनेको आरोप डा. कोइरालाले संवैधानिक निकायहरू सचिवहरूको ‘रिटायरमेन्ट क्लब’ जस्तो बनेको बताउँदै कर्मचारी सेवाका लागि 'कूलिङ पिरियड' अनिवार्य गरिनुपर्ने माग पनि राखे ।
हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रहको पक्षमा कोइरालाले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने दलहरूले जनमत संग्रहबाट नडराउनुपर्ने तर्क गर्दै हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था सम्बन्धी विषयमा कांग्रेस, एमाले र माओवादीले एकजुट भएर जनमत संग्रह गराउनुपर्ने बताए ।
मंसिर ०८२ मै कांग्रेस महाधिवेशनको माग नेता कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन २०८२ सालको मंसिरमै हुनुपर्ने आफ्नो अडान दोहोर्याउँदै कार्यकर्ताहरूलाई त्यसका लागि दबाब दिन आह्वानसमेत गरे ।