राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टीको संगठनात्मक र वैचारिक पुनर्संरचनाका लागि विस्तृत प्रस्ताव अघि सारेका छन् । सभापति रवि लामिछाने थुनामा रहेकाले नयाँ संसदीय दलको नेता चयन गर्नुपर्ने प्रस्ताव गर्दै उनले उपसभापतिद्वय डोलप्रसाद अर्याल (कार्यबाहक सभापति) र डा. स्वर्णिम वाग्लेलाई लिखित रूपमा सुझाव पठाएका हुन् ।
रवि लामिछानेको थुनाबारे सर्वोच्चको आदेशपछि प्रस्ताव
सर्वोच्च अदालतले शुक्रबार लामिछानेमाथिको थुनामा राख्ने उच्च अदालतको आदेश सदर गरेपछि न्यौपानेले यो प्रस्ताव अघि सारेका हुन्। उनका अनुसार लामिछाने अब चाँडै पार्टी नेतृत्वमा फर्किने सम्भावना कमजोर देखिएकाले संगठनलाई निष्क्रिय हुन नदिन तत्काल कदम चालिनुपर्छ ।
न्यौपानेको मुख्य प्रस्तावहरू यसप्रकार छन् :
🔹 संगठनात्मक प्रस्ताव
-
संसदीय दलको नेता तत्काल चयन गर्नुपर्ने
-
रिक्त पदहरू : उपसभापति (महिला), महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य (सम्पूर्ण जातजाति, लिङ्ग र समुदाय प्रतिनिधित्व हुने गरी) मा महाधिवेशनसम्मका लागि पदपूर्ति
-
शुभेच्छुक संगठनको निर्माण – स्वतन्त्र स्वरूपमा, भातृ संगठनको रूपमा नरहने
-
प्रतिनिधिसभा २०७९ का उम्मेदवारलाई पार्टी संरचनामा प्राथमिकता
-
सबै विभाग तथा समिति पूर्णता
🔹 सैद्धान्तिक प्रस्ताव
-
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्थाको माग गर्दै संसद् तथा सडकमा जनमत संग्रहको अभियान
-
गोलमेच सम्मेलन मार्फत नयाँ/वैकल्पिक राजनीतिक शक्तिसँग साझा एजेन्डा तय
-
जनआन्दोलन भाग–३ को घोषणा
-
विदेशमा रहेका नेपालीलाई राजदूतावासमार्फत मताधिकार सुनिश्चित गर्न संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव पेस र सडक तथा सामाजिक सञ्जाल आन्दोलनको घोषणा
-
देशभरका विज्ञहरूसँग खुला विचार गोष्ठी आयोजना गरी पार्टीको सैद्धान्तिक दृष्टिकोण परिमार्जन
-
भारत, चीन, अमेरिका, युरोपेली संघ लगायतका राष्ट्रसँग छायाँ राजदूतको रूपमा कूटनीतिक संवादकर्ता तोक्ने
🔹 न्यौपानेको भनाइ
“पार्टीलाई संसद् र जनतामा प्रभावकारी रूपमा लैजानका लागि मैले उपसभापतिद्वयलाई सुझाव पठाएको हुँ,” न्यौपानेले लोकान्तरसँग भने, “राजतन्त्रका लागि जनमत संग्रह माग गर्न मिल्छ भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि किन नमाग्न मिल्दैन?”