नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईले पार्टीका केही मन्त्रीहरूको कमजोरी र भ्रष्टाचारसम्बन्धी गम्भीर आरोप उठाउँदै सभापति शेरबहादुर देउवालाई ती मन्त्रीहरूलाई फिर्ता बोलाउन माग गरेका छन् ।
सांसद बजगाईले कांग्रेस सभापति एवं संसदीय दलका नेता देउवालाई पत्र लेख्दै “पार्टीको छवि जोगाउन विवादास्पद र कमजोर मन्त्रीहरूबारे तुरुन्त निर्णय लिनु आवश्यक” रहेको उल्लेख गरेका छन् । उनले उक्त पत्र पार्टीको संसदीय दल कार्यालयको इमेलमार्फत पठाएका हुन् ।
पत्रमा लेखिएको छ, “नेपाली कांग्रेसको नेतृत्वमा रहेका केही मन्त्रीहरूको कार्यशैलीले आज हाम्रो पार्टीको गरिमा र जनविश्वासमा गम्भीर धक्का पुर्याइरहेको छ । यदि पार्टीले समयमै कठोर निर्णय लिएन भने, यसले भविष्यमा गम्भीर राजनीतिक नतिजा ल्याउनेछ ।”
गृहमन्त्री लेखकको सचिवालयमाथि गम्भीर आरोप बजगाईले गृहमन्त्री रमेश लेखकको सचिवालयमा कार्यरत कर्मचारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाइसकेको कुरालाई पनि पत्रमा उल्लेख गरेका छन्। उनले समाचारहरू उद्धृत गर्दै गृहमन्त्रीको सचिवालय नै “मानव तस्करी र आप्रवासनको दुरुपयोगमा संलग्न देखिएको” आरोप लगाएका छन् ।
“गृहमन्त्रीको नैतिक जिम्मेवारी उठ्नुपर्ने हो,” पत्रमा उल्लेख छ, “यो गृह मन्त्रालयको नेतृत्व मात्र नभई सम्पूर्ण संरचनाप्रति कानुनी प्रश्न उठ्ने विषय हो।”
पर्यटन मन्त्रीमाथि पनि आरोप बजगाईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको नेतृत्वमाथि पनि प्रश्न उठाएका छन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दुर्गति उल्लेख गर्दै “उक्त स्थल तस्करहरूको केन्द्र बनेको” जस्तो देखिएको टिप्पणी गरेका छन् ।
पत्र दर्ता प्रक्रियामा, सचेतकलाई जानकारी गराइने सांसद बजगाईले देउवालाई सम्बोधन गर्दै पठाएको पत्र संसदीय दलको इमेलमा पठाइएको भए पनि हालसम्म दर्ता भइनसकेको स्रोतले जानकारी दिएको छ। दलको नियमअनुसार प्रमुख सचेतकलाई जानकारी गराएर मात्र पत्र दर्ता गर्ने प्रचलन रहेको बताइएको छ ।