कृषि प्रधान मुलुक भनिने नेपालले चालु आर्थिक वर्षमा झण्डै १९ अर्ब रुपैयाँको धान आयात गरेको छ। यति ठूलो परिमाणमा धान आयात हुनु देशको कृषि प्रणालीको गम्भीर विसंगति र आत्मनिर्भरताप्रति प्रश्न उठाउने खालको देखिएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको अवधिमा नेपालले ४९ करोड ५१ लाख किलोभन्दा बढी धान आयात गरेको छ, जसका लागि १८ अर्ब ९५ करोड रुपैयाँ खर्चिएको छ ।नेपालको कुल जनसंख्याको ६६.७ प्रतिशत हिस्सा प्रत्यक्ष रूपमा कृषि पेशामा आबद्ध छ भने कुल ग्राहस्थ्य उत्पादन (जीडीपी) को करिब ३३ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ। यद्यपि, धानजस्तो आधारभूत बालीमा समेत देश आत्मनिर्भर बन्न नसक्नु विडम्बनापूर्ण मानिएको छ।
व्यापार घाटा १२ खर्ब ५६ अर्ब नाघ्यो चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले १४ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा आयात गरेको छ। सोही अवधिमा निर्यात भने केवल २ खर्ब १७ अर्ब रुपैयाँमा सीमित छ। यसकारण, व्यापार घाटा १२ खर्ब ५६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।
निर्यातमा प्रमुख योगदान तेलमै निर्याततर्फ सबैभन्दा बढी योगदान सोयाबिनको तेलबाट आएको छ। ३७ करोड ४० लाख किलो सोयाबिन तेल निर्यात गर्दै नेपालले ७८ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेको छ। दोस्रो स्थानमा सूर्यमुखी र कुसुमको तेल रहेको छ, जसको निर्यात मूल्य १० अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
आयातमा इन्धनको हिस्सा उच्च आयाततर्फ सबैभन्दा बढी रकम डिजेल खरिदमा खर्चिएको छ। ११ लाख ४७ हजार किलोमिटर डिजेलका लागि १ खर्ब २ अर्ब रुपैयाँ खर्चिएको छ ।
त्यसपछि क्रमशः कच्चा सोयाबिन तेल, पेट्रोल, एलपी ग्याँस र फलामजन्य वस्तुहरू रहेका छन्। यी सबै वस्तुका लागि छुट्टाछुट्टै ९५० अर्ब रुपैयाँभन्दा बढीको आयात गरिएको छ।