नक्कली भारतीय नोट प्रकरणमा कैद सजाय भुक्तान गरी छुटेका बाराका युनुस अन्सारीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) मुद्दामा अनुसन्धान सुरु गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले शनिबार नख्खु कारागारबाट रिहा भएलगत्तै अन्सारीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो। ब्युरोका एसएसपी होबिन्द्र बोगटीका अनुसार अन्सारीमाथि अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। उनलाई आइतबार अदालतमा उपस्थित गराइँदैछ ।
बारम्बार नक्कली नोट प्रकरणमा मुछिँदै आएका अन्सारी अन्सारी पहिलोपटक २०६६ साल पुस १३ गते २५ लाख ४४ हजार ५ सय भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए। त्यसपछि उनले १७ माघमा कारागार जीवन सुरु गरेका थिए। सो समयमा उनी नेसनल टेलिभिजनका अध्यक्ष समेत थिए ।
२०६७ साल असोज ६ गते पुनः ४० लाख ९१ हजार भारतीय जाली नोट बरामद हुँदा पनि अन्सारीको संलग्नता देखिएको थियो। त्यसपछि करिब पाँच वर्षको कैद सजाय भुक्तान गरी उनी २०७० साल असोज १८ मा रिहा भएका थिए ।
तेस्रोपटक २०७० साल माघ १० गते ३५ लाख भारतीय नक्कली रुपैयाँसहित पक्राउ परेका अन्सारी २०७६ साल जेठ १० गते फेरि ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। सो घटनामा दोषी ठहर गर्दै अदालतले उनलाई ६ वर्ष कैद, ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो। उक्त कैद शनिबार सकिएपछि उनी मुक्त भएका थिए ।
‘सुरक्षा चुनौती’का कारण हिरासतमै अनुसन्धान प्रहरीका अनुसार अन्सारीमाथि भारतीय आपराधिक गिरोहको खतरा रहेकाले अनुसन्धानका क्रममा हिरासतबाहिर राख्न गाह्रो भएको छ। केन्द्रीय कारागारमा कैद काट्दै गरेका बेला, २०६७ फागुन २६ मा भारतीय शूटर मनमित सिंह उर्फ मनमित भाटियाले उनलाई गोली हानेर हत्या प्रयास गरेका थिए । त्यही कारण अनुसन्धानका क्रममा पनि उनीमाथि विशेष सुरक्षा निगरानीका साथ हिरासतमै राखिएको प्रहरीले जनाएको छ ।