प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनप्रतिनिधिहरूलाई पार्टीसँगको सम्बन्ध बलियो राख्न निर्देशन दिएका छन् । शनिबार ललितपुरमा आयोजित नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडा अध्यक्षहरूको भेलामा सम्बोधन गर्दै ओलीले पार्टीलाई बेवास्ता गर्दै अघि नबढ्न चेतावनी दिए ।
“तपाईंहरू जनप्रतिनिधि भएर उडेपछि चंगाको धागो काटिएजस्तो पार्टीसँगको सम्बन्ध तोड्नु हुन्न। पार्टीको कार्यकर्ता भएकाले अझ नजिक हुनुपर्छ, अझ सम्पर्कमा रहनुपर्छ,” अध्यक्ष ओलीले भने। उनले पार्टीको निर्देशन र मार्गदर्शनअनुसार काम नगरे आगामी चुनावमा परिणाम गम्भीर हुन सक्ने संकेत गरे ।
जनप्रतिनिधिको पहिलो कार्यक्षेत्र वडातह : ओली
अध्यक्ष ओलीले पार्टीको नीति, निर्णय र निर्देशन लागू गर्ने पहिलो कार्यक्षेत्र वडातह नै भएको उल्लेख गर्दै, “पार्टी निर्णय कार्यान्वयन गर्ने तह भनेकै वडा हो,” भने ।
उनले कुनै पनि लोभ, लालच वा प्रलोभनमा नपरी काम गर्न निर्देशन दिँदै सबै वडाअध्यक्षलाई पार्टीको अनुशासन र नीति अनुरूप काम गर्न आग्रह गरे। साथै, अन्य दलहरूसँग सहकार्य गर्दै अगाडि बढ्न सुझाव पनि दिए ।
“एमाले पार्टी देशको स्वाधीनता, रक्षा र विकासका लागि बनेको हो। त्यसैले जनप्रतिनिधिको भूमिकाले पार्टीको गरिमा थप बढ्नुपर्छ,” उनले भने ।