प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालमाथि विदेशी उद्देश्यको मतियार भएर तत्कालीन एमाले विभाजनमा भूमिका खेलेको आरोप लगाउनुभएको छ ।
आइतबार एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एमालेलाई अभिवाजित पार्टी बन्न नदिन र नेपाललाई गरिखान नदिन दाहालले विदेशी उद्देश्यका लागि काम गरेको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले माओवादीले युद्धकालमा विदेशी हतियार ल्याएर नेपाली जनतामाथि बम विस्फोट गरेको आरोप लगाउँदै भने, “देशमा क्रान्तिको नाममा बाहिरबाट हतियार, खरखजना र तालिम ल्याएर नेपाली जनताको टाउको र छातीमा पड्काए। गुडिरहेको बसमा, बुढाबुढी र बालबालिका रहेका ठाउँमा बम विस्फोट गराए। जब गाह्रो पर्यो, बेवारिसे छोडेर लुकाएर हिँडे। अहिले पनि त्यहाँबाट छरिएका बमका कारण बच्चाहरूको मृत्यु भइरहेको छ ।”
उहाँले भने, “विध्वंस मच्चाउने तत्वहरू वास्तवमा कम्युनिस्ट वा वामपन्थी होइनन् । यदि हाम्रो पार्टी फुटेको भएन र हामीले अघि बढेको स्थानमा नै अघि बढेका भए एमाले अहिले पनि प्रमुख राजनीतिक शक्ति हुनेथियो। तर उनीहरूले कुनै पनि हालतमा एमालेलाई अभिवाजित पार्टी बन्न नदिने र नेपाललाई गरिखान नदिने विदेशी उद्देश्यका मतियार भएर विभाजन गराए ।”