भक्तपुरको बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छन् ।
सूर्यविनायक नगरपालिका-३ स्थित लक्ष्मीश्वर महतोको घरमा डेरा गरी बस्ने शाहीको शव आइतबार प्रहरीले फेला पारेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज न्याैपानेका अनुसार, केही दिनदेखि शाही एक्लै कोठामा बसिरहेकी थिइन् । आइतबार दिउँसोसम्म उनको कोठाको ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी जनप्रतिनिधिको रोहवरमा कोठा फोडेर हेर्दा शाहीको शव कोठाको भुइँमा मृत अवस्थामा फेला परेको थियो । उनका श्रीमान उपत्यका बाहिर रहेका छन् भने छोराछोरी विदेशमा छन् । शाहीको शरीरमा कुनै चोटपटक नभएको र घटनास्थलमा सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ । मृत्युको कारण के हो भनी अनुसन्धान भइरहेको छ ।
पूर्व सभामुख तथा माओवादी नेता कृष्णबहादुर महराले जबर्जस्ती करणी गरेको आरोपमा ६ वर्षअघि शाहीले प्रहरीमा निवेदन दर्ता गराएकी थिइन् ।